Gallery

मष्टा गाउँपालिकाका विपन्न ,दलित,एकल महिलालाई सुधारिएको फलामे चुलो वितरण

खबर संवाददाता ।बझाङ ।कार्तिक ११। मष्टा गाउँपालिकाका विभिन्न वडाका कृषक समुहलाइ सुधारिएको फलामे चुलो वितरण गरिएको छ । साहारा नेपाल बझाङ र स्वालोज अफ फिनल्यान्डको सहकार्यमा सञ्चालित खाद्य सुरक्षा सुधार, दिगो जीविकोपार्जन, र महिला सशक्तीकरण परियोजनाको आर्थिक सहयोग स्थानीय कृषकहरूलाई धुवाँरहित चुलो वितरण गरिएको हो।

परियोजना अन्तर्गत मष्टा गाउँपालिका वडा नम्बर ३,४,५,६ र ७ का कृषक समुहका २० जना दलित, एकल महिला र विपन्न सदस्यहरूलाई सुधारिएको धुवाँरहित फलामे चुलो वितरण गरिएको छ।

परम्परागत चुलोका कारण स्वाथ्यमा असर पर्ने भएपछि उनीहरुलाइ निःशुल्क सुधारिएको चुलो वितरण गरेको परियोजनाका फिल्ड संयोजक दिनेश रोकायाले बताउनुभयो । दाउरा कम लाग्ने र धुवाँ नियन्त्रण हुने भएपछि उक्त समूहका सदस्यहरुलाइ सुधारिएको चुलो वितरण गरिएको उहाँको भनाइ छ । सुधारिएको चुलोको प्रयोगले दाउरा प्रयोगमा कमि भई दाउरा जम्मा गर्न लाग्ने समय र श्रम, खर्चमा समेत कमि ल्याउन सकिने बताइएको छ ।

यस चुलोको प्रति चुलो मूल्य ७००० रुपैयाँ रहेको समेत रोकायाले बताउनुभयो । आगामी चरणमा समूहका अन्य सदस्यहरूलाई पनि यस्तै चुलो वितरण गरिने योजना रहेको फिल्ड संयोजक रोकायाले जानकारी दिनुभयो। यो प्रयासले स्थानीय समुदायको स्वास्थ्य सुधारमा योगदान पुग्ने र वातावरणीय दिगोपनमा टेवा पुर्‍याउने अपेक्षा परियोजनाको छ।

मष्टा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष उत्तम जोशीले सुधारिएको चुलोले दाउराको खपत घटाउने, चुलोको कार्यदक्षता बढाउने र घर भित्रको धुवाँ कम गर्ने भएकाले सुधारिएको आधुनिक चुलो प्रयोग गर्न सुझाव दिनुभयो ।